काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले नेपाल विद्यार्थी संघको तदर्थ समितिका लागि महामन्त्रीका नाम टुंगो लगाएको छ । आइतबार दुवै पक्षले नेविसंघ महामन्त्रीका लागि नाम टुंगो लगाएको छ भने सिटौला पक्षले उपसभापतिसमेत टुंगो लगाएको छ ।
रामचन्द्र पौडेल पक्षले प्रभात दाहाल, उर्मिला थपलिया र दीपक भट्टराईलाई महामन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीमा बलदेव तिमिल्सिना र युवराज पाण्डेय भएका छन् ।
पौडेल पक्षबाट महामन्त्रीमा परेका दाहाल नेपाली कांग्रेसको गत महाधिवेशनमा मकवानपुर जिल्ला सभापतिमा पराजित भएका व्यक्ति हुन् । उनले तेश्रो स्थानको मत ल्याएका थिए । दाहाल नेता प्रकाशमान सिंह निकट हुन् । महामन्त्री नै बनेकी थपलिया पार्टी महामन्त्री डा शशांक कोइराला निकट हुन् । उनी नेविसंघको पूर्व उपाध्यक्षसमेत हुन् । भट्टराई वरिष्ठ नेता पौडेल कटका विद्यार्थी नेता हुन् । नेता रामचन्द्र पौडेल र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो।
तदर्थ समितिमा पठाउने व्यक्तिहरूको नाम टुंग्याउन पौडेलले आफू निकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई जिम्मेवारी दिएका थिए। जोशी आइतबारबाट भारत गएकाले अन्य पदाधिकारी तथा सदस्यको नाम स्ववियु निर्वाचन पछि टुंग्याउने बताइएको छ। सिटौला समूहबाट उपसभापतिमा तुलसा पन्त र मुक्तिप्रसाद पौडेल चयन भएका छन् । देउवा र पौडेल पक्षले भने उपसभापति चयन गर्न सकेका छैनन् ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३/३ महामन्त्री र सिटौला पक्षलाई २ महामन्त्री बाँडफाँट गर्ने सहमति नेताहरूबीच भएको छ। उपाध्यक्षमा भने तीनै समूहले २/२ जना लिएर भागबन्डा मिलाएका छन्। सहमहामन्त्री पनि तीनै समूहले २/२ जना बाँड्ने भएका छन्।
६० जना सदस्य सभापति देउवा समूहबाट, ४० जना पौडेलबाट र ३० जना सिटौला समूहलाई हुने गरी केन्द्रीय सदस्य बाँडफाँट मिलाइएको छ।
तपाईको प्रतिक्रिया