
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले सुखद सुरुवात गरेको छ । सागकाे दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा नेपालले जित्यो ।
नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।
सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् ।
नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको हाे । कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।
त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे।
महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्। तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ।
तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्। त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन्।
पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए। त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन्।
ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्।
तपाईको प्रतिक्रिया