काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालमा पैसा पठाउने कम्पनीहरूमध्ये ठमेल रेमिटबाट पठाउँदा सबैभन्दा सस्तो लागत देखिएको छ । विश्व बैंकको एक अध्ययनले अमेरिकाबाट नेपाल पैसा पठाउँदा विश्वका ठूला रेमिट्यान्स कम्पनीहरूभन्दा ठमेल रेमिटमा लागत कम लाग्ने गरेको छ ।

बैंकको अध्ययन अनुसार ५०० अमेरिकी डलरसम्म नेपाल पठाउँदा ठमेल रेमिट ठूला रेमिट्यान्स कम्पनी मनीग्राम, वेस्टर्न युनियन, रीयाको तुलनामा निकै सस्तो रहेको छ । बैंकले पैसा पाइने अवधि, विनिमय दर मार्जिन, कुल लागत जस्ता पक्षहरूको अध्ययनका आधारमा यो निचोड निकालेको हो ।
विश्व बैंकको ‘रेमिट्यान्स प्राइसेस वल्र्डवाइड’को विवरणअनुसार ठमेल रेमिटबाट ५०० डलर पठाउँदा लागत ११ दशमलव ८० डलर रहेको छ । लागत कम भएका कम्पनीको सूचीमा मनीग्राम, मुन्चा, वल्र्ड रेमिट क्रमशः दोस्रो, तेस्रो तथा चौथो स्थानमा छन् ।
ठमेल रेमिट विशुद्ध अनलाइन प्लेटफर्म प्रयोग गरी विप्रेषण पठाउने रेमिट्यान्स कम्पनी हो । अमेरिकामा रहेका नेपाली मूल ग्राहक रहेका यस कम्पनीको नेपालमा सिद्धार्थ बैंक बैंकिङ पार्टनर हो ।
विप्रेषण व्यवसायका विविध पाटालाई एउटै प्लेटफर्ममा ठमेल रेमिटले ल्याउन सकेकोले नै लागत कम हुनपुगेको ठमेल रेमिटका अध्यक्ष बालकृष्ण जोशी बताउँछन् । उनका अनुसार, अमेरिकामा विप्रेषण व्यवसायको लाइसेन्स भएको कम्पनी, ग्राहक विवरण पहिचान (केवाईसी) गर्ने कम्पनी, बैंकिङ सेवा उपलब्ध गराउने सबैलाई ठमेल रेमिटले एउटै प्लेटफर्ममा ल्याएको छ । यी सबैलाई माकनेट इन्क नामक कम्पनीले एउटै प्लेटफर्ममा ल्याउन सहजीकरण गरेको जोशी बताउँछन् । ‘साझेदारीका कारण खर्च कम हुनपुग्यो, जसले ठमेल रेमिटको सेवालाई सस्तो बनायो,’ जोशी बताउँछन् ।
‘सबैलाई थाहा भएको कुरा हो, अमेरिकामा नियमन कडा छ । त्यसमाथि पनि पैसा पठाउने व्यवसायमा पठाइने पैसा कानूनी अर्थात् क्लीन हुनैपर्छ,’ जोशीले भने, ‘विप्रेषण कम्पनीमार्फत पठाइने रकम कानूनी हो/होइन, पठाउने व्यक्तिले कानूनीरूपमा कमाएको हो/होइन भन्ने पक्षहरू महत्त्वपूर्ण हुन्छ ।’
ठमेल रेमिटले ५० डलरदेखि १० हजार अमेरिकी डलरसम्म नेपाल भित्र्याउने गरेको छ । अमेरिकाबाट नेपाल आउने विप्रेषणको १२–१५ प्रतिशत ठमेल रेमिटमार्फत आइरहेको जोशीको भनाइ छ ।
सन् २००१ मा नेपालकै पहिलो ई–कमर्श पोर्टल ठमेल डटकम खोलेर विदेशमा रहेका नेपालीलाई नेपालमा रहेका आफ्ना परिवार/आफन्तबाट उपहार/सामान पठाउने सुविधा उपलब्ध गराएका जोशी ठमेल रेमिटका लागि शुरूका ग्राहक तीनै थिए, जसले ठमेल डटकम प्रयोग गर्थे ।
यस लेखबारे तपाइको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला।
यो समाचारलाई फेसबुक तथा टुइटरमा शेयर गर्नुहोस् ।
तपाईको प्रतिक्रिया